You are viewing the translated version of समितिको काम, कर्तव्य र अधिकार.

Section 13
समितिको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) जीवनाशक विषादी सम्बन्धी नीति तर्जुमा गरी नेपाल सरकार समक्ष पेश गर्ने,
(ख) जैविक, बनस्पतिजन्य तथा सुरक्षित रासायनिक विषादी उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने,
(ग) जीवनाशक विषादीको गुणस्तर निर्धारण तथा विषादीको व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने,
(घ) जीवनाशक विषादीसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अनुमोदन तथा कार्यान्वयनको लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(ङ) मानव, पशुपन्छी, जीवजन्तुको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पार्ने जीवनाशक विषादीलाई प्रतिबन्ध लगाउने,
(च) निरीक्षक वा प्रमुखले गरेको निर्णय विरुद्धको उजूरी सुन्ने,
(छ) कुनै पनि पदार्थ वा वस्तु विषादी भए वा नभएको सम्बन्धमा पहिचान गर्ने, गराउने,
(ज) जीवनाशक विषादी व्यवस्थापन सम्बन्धी मापदण्डहरू स्वीकृत गरी लागू गर्ने, गराउने,
(झ) केन्द्र तथा उपसमितिलाई आवश्यकता अनुसार अधिकार प्रत्यायोजन गर्ने,
(ज) तोकिए बमोजिमका अन्य काम गर्ने।
(२) समितिले जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्गको कार्यलाई सहज एवं सूचारु रूपले सञ्चालन गर्नका लागि आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम गठन हुने उपसमितिको काम, कर्तव्य, अधिकार तथा कार्यविधि सो उपसमिति गठन गर्दा समितिले तोके बमोजिम हुनेछ।
(४) समितिले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार केन्द्र, दफा ३९ बमोजिमको प्रदेश जीवनाशक विषादी व्यवस्थापन समिति वा उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ।